सामुहिक सारिखिम (पितृघर)

pitri_ghar

बाहिङ किरात मुलुखिमले काठमाण्डौ उपत्यका भित्र बाहिङहरुको सामुहिक सारिखिम (पितृघर) बनाउन जग्गा खरिद तथा निर्माणको लागि आर्थिक सहयोग गर्न बाहिङ लगायत सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक अपिल गर्दछ ।

प्रस्तावना:

किरात बायुङ/बाहिङ जातिमा मानिदै आएको भगवान पापाचादुबुङ, मामाचुनिमो र सृष्टिकर्ता निनियाङ्मालाई साक्षी राख्दै, किरात बाहिङहरुका पूर्खा सारिरेरी, की–सारी, पी–सारी, जस्ले हामी सबै मानवलाई यस च्याङ्माखा (धर्तिमा) जन्म दिनु भयो । उनीहरु प्रति बफादारी हुदै, संसारमा प्रकृतिको नियमलाई निरन्तरता दिनुहुने सम्पूर्ण जन्मदाता पितृपूर्खाहरुको सम्मान गर्दै, बाहिङ सास्कारिक पूर्खाहरु ध्यावा–नक्सो, मोतो–नक्सो, सेलीमी–सेलीचा, कुरीमी–कुरीचा, नक्सो पेरो झुम्रो–ङाबुचा–चयचा, ध्यावा सीवे, कायमी कायचा र तुम्लोचाहरुलाई सम्मान गर्दै,

मुलुखिमको ऐतिहासिक साधारण सभामा २०६८ माघ १९ आइतबार दिनको सभाले हाम्रा जन्मदाता र सम्मानित पूर्खाले गर्दै आएका विविध रिती रिवाज संस्कारलाई निरन्तरता दिने प्रण गर्दै, पूर्खाहरुले नै सम्पूर्ण बाहिङ सन्ततिको जन्मदाता हुन् भन्ने सत्य मान्दै, किरात बाहिङहरु पृथ्वी रहुन्जेल रहि रहने स्थायी जाति हो भन्ने मान्दै, यही अस्तित्वलाई बचाउन खातिर, भावि सन्ततीको हित, उत्थान र हाम्रा अस्तित्व, परम्परा, संस्कारलाई जिवन्त दिदै, अब उपरान्त हामी भावी योजनामा लाग्ने सहमति हामी सबै उपस्थित पूर्खा, संस्थापक, संरक्षक, आजिवन सदस्यहरु, मुलुचा–मुलुमी, ध्यावा नक्सो, मोतो नक्सो, ङप्सी, ङप्सीमी विचको मुलुले सहमत भयौं ।

(१) सामुहिक सारिखिमको आवश्यकता र औचित्य

किरात बायुङ/बाहिङहरु विशेष गरेर आफ्नो मुल थलोबाट बसाइसराई भई पूर्खौली राज्यथलो नेपाल (काठमाण्डौ उपत्यका) मा बसोबास गरेका र युवा युवतीहरु कामको खोजि र उच्चशिक्षा अध्ययनका लागि उपत्यका बस्ने तथा युवा पुस्ताहरु बैदेशिक रोजगारको सिलसिलामा विभिन्न मुलुकमा जाने र आफ्ना परिवार र बालबच्चाहरु उपत्यकामा ल्याएर राख्ने क्रम बढ्दो रुपमा छ । यसरी युवाहरु विदेश पलायान हुनुले बाँचेका पूर्खाहरुको अन्त पछि भावि पुस्ताहरुले यसलाई आ–आफ्नो घरमा पितृ संस्कारको निरन्तरता बिस्तारै अन्त हुने कुराको गहन विश्लेषण गर्दै, शहरमा गाउँबाट बसाईसरी बस्नेहरुको घर सिमेन्टमा निर्मित हुनु र प्रत्येक शहरी घरहरुमा पितृ मान्ने अवस्था असम्भव भएको हुँदा, बाहिङहरुको समस्या मर्दा अस्पतालबाट सिधै समाधीस्थल लाने र केहि विधि नगरी संस्कार्ने कार्य तपाई हाम्रो बाध्यता भएकोले, यसलाई कमसेकम मृत्यू पश्चात बाहिङ संस्कार (तुम्लो) अनुसार उक्त सारिखिममा लगेर मृत्युसंस्कारमा गरिने संस्कारिक सम्मान सारिखिममा गरेर मात्र संस्कार्ने विधिलाई निरन्तर गर्नको लागि सारिखिम पवित्र स्थल, धार्मिक साँस्कारिक थलो, ऐतिहासिक पुरात्वतिक महत्वको रुपमा कायम राख्न, किरात बाहिङहरुको दिर्घकालीन संग्रहालयको रुपमा विकास गर्ने सोच, धार्मिक साँस्कारिक निरन्तरता, पहिचान र अस्तित्वको रक्षा सामुहिक एकता, किरात बाहिङहरुको पितृ मान्ने समय माघमा एक दिन उत्सवको रुपमा पितृमान्ने प्रचलनको विकास गरी सबैले त्यहि पवित्र घरमा (क) जन्म संस्कार, (ख) विवाह संस्कार(लालुखा) र (ग) मृत्यू संस्कार गर्ने गरी, आवद्ध सदस्यहरुले आर्थिक दायित्व र सहभागि हुने प्रावधानको विकास र एकल जिम्मेवारीमा सामुहिक जिम्मेवारी र दायित्व बहन गर्ने थलोको रुपमा विकास गर्ने उदेश्य राखि संस्थाले सामुहिक सारिखिम विकास र निर्माण अवधारणा अगाडी सारिएको हो ।

(क) जन्मसंस्कारका लागि सामुहिक सारिखिम निर्माण आवश्यकताः

किरात बाहिङ समुदायमा जन्मसंस्कारका विधि विधानहरु आफ्नै विशिष्ठता रहेको छ । उक्त जन्म संस्कार गर्नको लागि सामुहिक सारिखिम(पितृघर) आवश्यकता हुन्छ । काठमाण्डौंमा नयाँ बच्चा जन्म दिए पछि जन्मसंस्कार(निङ् जुल्चो, जाचो मोक्चोम्, आनिन्ता वा पाचो, चाम खर्चो) गर्नको लागि अपरिहार्य रुपमा सामुहिक सारिखिम निमार्ण गर्न आवश्यकता छ ।

(ख) विबाह (लालुखा) संस्कारका लागि सामुहिक सारिखिम निर्माण आवश्यकताः

आफ्ना सन्तान हुर्के बढे पछि लालुखा (विवाह) संस्कार गर्नु साँस्कारिक विधि हो । यसका लागि परम्परागत बकल(चुला), विधि गर्ने साँस्कारिक स्थान, चाहिने सामा सर्दाम् र विवाहमा निम्तालु बोती(पाहुना)हरुलाई भोज भतेर यी सबै कार्यगर्न र व्यवस्थापन गर्न सामुहिक सारिखिम निर्माण गर्न आवश्यकता रहेको छ ।

(ग) मृत्यु संस्कारका लागि सामुहिक सारिखिम निर्माण आवश्यकताः

काठमाण्डौंमा स्थाई घर भएकाहरु र गाँउबाट उपचारका लागि उपत्यकामा अस्पतालमा ल्याउदा उपचारको क्रममा निधन भएकालाई गाँउको जस्तो पितृघर भित्र नाग्लेमा राखेर मृत्यू संस्कार विधि गर्ने चलन रहेको र उपत्यकामा यो विधि पितृघरमा नगरी वनकालिमा लानु परेको बाध्यता रहेको हुदा समुदायमा निधन भएका सबै सदस्यहरुलाई सारिखिममा अनिबार्य रुपमा लगि पवित्र विधिहरु गरि सामुहिक अन्त्येष्ठी र मृत्यु संस्कारका सबै कार्य सम्पन्न गर्ने पितृ बुझाउनका लागि सामुहिक सारिखिम निर्माण आवश्यक छ ।

(च) उपचार, विधीः

किरात बायुङ/बाहिङ समाजमा डक्टरी उपचार बाहेक आध्यात्मिक उपचारका श्रोत धामी झाक्री र पितृ धामी(नक्सो) महत्वपूर्ण हुन्छ । उदाहरणको लागि पितृधामीले मृत आत्मालाई विविधवत रुपमा पुज्ने र धामी झाक्रीले मृत आत्मालाई मृत्यू पश्चात आत्मा वस्ने पितृघर वा बुल्न्याम् खिममा आत्मालाई पुर्‍याउने र समाजमा भैपरि आउने दुख विमार र बाधा अड्चनमा उपचार गर्ने लाखौ वर्ष देखि हुदै आएको छ । उक्त कार्य गर्नको लागि काठमाण्डौंमा बनेका व्यक्तिगत घरहरु प्राय व्यापारी र कोठा भाडाका दिने प्रयोजनका लागि बन्ने हुदा, यी सब गर्न अन्य समाजसंग मिश्रीत बसोबास भएकोले  मो(चिन्ता) गर्न नक्सो र झाम्चाका लागि पितृघर अपरिहार्य हुने हुदा सोका लागि सामुहिक सारिखिम निर्माण आवश्यकता छ ।

(छ) साँस्कारीक धरोहरको केन्द्र विन्दु बनाउन सामुहिक सारिखिम निर्माण आवश्यकताः

उपत्यकमा विगत लामो समय देखि किरात बाहिङहरु उपत्यकामा घर बनाई बसेका र अस्थायी रुपमा बस्ने हाम्रा समुदायले आफ्नो संस्कार संस्कृति मान्ने चाहाना हुदा हुदै हालसम्म कुनै किसिमको पितृघर नहुनु, बनाउने कुनै किसिमको पहल भएको छैन । यस कारण आफ्नो संस्कार गर्ने समुदायको चाहाना हुदा हुदै पनि बाध्यताले अन्य धर्ममा पलायान बाध्य बन्नु परेका छ । यसर्थ संस्कार संस्कृति लाई निरन्तरता दिन र धर्मिक पलायनबाट समुदायलाई आफ्नै संस्कार संस्कृतिमा रम्न रमाउने बातावरण निमार्ण गरि आफ्नो पुर्खौली साँस्कृति सम्पदाको संरक्षण गर्नका लागि सामुहिक सारिखिम निर्माण अपरिहार्य छ ।

(ज) किरात संस्कृति संस्कारको अध्ययन केन्द्रको रुपमा स्थापित गर्न सामुहिक सारिखिमः

आधुनिकता र विश्वभूमण्डलीकरणका कारण पूर्खाले स्थापित गरेका घर घरमा पितृघर र पितृ संस्कार अवको समय सापेक्ष सम्भव छैन र विस्तारै युवा पुस्ता बिदेश पालयन हुने लर्को र पूर्खाहरु सकिदै जानुले घरघरमा रहेको पितृघर र पितृ संस्कार समाप्त हुने पक्का छ । यसर्थ पूर्खाले हामीलाई दिएको पितृसंस्कार र पितृघर सामुहकि सारिखिम मार्फत संरक्षण गरि, भावि पुस्ताका लागि संरक्षण र सबै अध्ययन कर्ताका लागि अध्ययन केन्द्रको रुपमा सस्कृति संस्कार अध्ययन केन्द्रको रुपमा स्थापित गर्न सामुहिक सारिखिम निर्माण आवश्यकता छ ।

(झ) बृद्धा बृद्धहरुको लागि आश्रम स्थलको रुपमा विस्तार गर्न सामुहिक सारिखिमः

तपाई हाम्रा सन्ततिहरु पुरातन संस्कार जसरी आफ्नो छोरा छोरीले बृद्धा आमा बुबाहरुको सेवा गर्ने समय हुदैन अझ बैदेशिक रोजगार अध्ययन जस्ता महत्वकाक्षि कार्यले हाम्रा सन्तान पृथ्वीको हरेक कुनामा सुन्दर भविश्यको खोजिसंगै हराएको हुन्छ । भने जन्म दिने बुबा आमालाई हेर्ने सम्भव हुदैन । अझ यस्तो बृद्धा अवश्थामा हेरचाहा गर्ने बोल्ने साथीको अति आवश्यक हुने गर्दछ । यस्तो बृद्धा अवश्थामा सामुहिक सारिखिम सबै बृद्धाहरुको हेरचाह गर्ने घरको रुपमा आवश्यक छ ।

(ञ) ऐकिकृत आर्थिक घरोहरको रुपमा सामुहिक सारिखिम आवश्यकताः

हाम्रा समुदायले उपत्यकामा विवाह, पार्टि, अथवा कुनै किसिमको कार्यक्रम बार्षिक करोडौको खर्च राजधानीका विभिन्न बेङ्क्वईट, पार्टि प्यालेसमा अथाहा खर्च गरि रहेका छन । उक्त कार्यक्रमको सामुहिक सारिखिममा कम्तीमा ७०० जना भन्दा माथीका सहभागिहरुका लागि विवाह, भोज पाटि गर्न सक्ने हलको निर्माण गरि उक्त कार्य गर्न गराउनमा समुदायलाई प्रयोजनका लागि उपलब्ध गराई धेरैलाई यस क्षेत्रमा रोजगारी प्रादान गर्ने र आम्दानीबाट बचेको रकमले बृद्धाहरुको सेवामा खर्च गर्ने ।

(ट) ऐतिहासिक पुरात्वतिक धरोहरको रुपमा विकास गर्न सामुहिक सारिखिम अवश्यबता छ ।

(ठ) पूखौली अस्तित्व पहिचान बचाउन र भावि पुस्ताहरुमा निरन्तरता दिन ।

(ड) सारिखिम भित्र चोखो पवित्रताको रुपमा ध्याव–नक्सो, मोतो–नक्सो, पेःरोचा–जुम्रोचा ङाबुचा, मसिचा–मसिमी, सिलीचा–सिलीमी तुम्लोचाहरु, मुलुचा–मुलुमी, सेग्रो हङका सांस्कारिक व्यक्तित्व, ध्याव नक्सोहरु, धामी(जाम्चा, झाम्चा) सांस्कारिक रुपमा पवित्र र सम्मानित रुपमा अस्तित्व कायम राख्न ।

(ढ) दिर्घकालीन संग्रहालयको रुपमा विकास गर्न ।

(ण) सारिखिम भित्रका अनाथ, असहाय बृद्धा, अनाथ, अशक्तहरुको हेरचाह गर्ने थलोको रुपमा समेट्न ।

(त) सामुहिक सारीखिमलाई पवित्र साँस्कारिक मन्दिरको रुपमा विकास गर्न ।

२. परम्परागत संस्कार र संस्कृतिको संरक्षण सम्बर्‍धन गर्ने ।

आधुनिकता र विश्व भूमण्डलीकरणलाई मध्यानजर गर्दै, समुदायमा तिव्ररुपमा धार्मिक आक्रमण, हस्ताक्षेप, प्रलोभन र मित्थ्य र खोक्रो सपना र आर्थिक प्रलोभनमा हाम्रा सोझा समुदायलाई दिन दुई गुना रात चौगुना अन्य कथित धर्ममा पलायन गराउने काम प्रति मध्यनजर गर्दै, समुदायमा धर्म परिवर्तनको बढ्दो लहडमा सचेत गराउँदै, हाम्रा पूर्खा र भावि सन्तति विरुद्ध उभ्याउने र हामी विच नै द्वान्द निम्त्याउने कुरालाई होसियारी अपनाउँदै, बाहिङ समुदायले मान्दै आएको परम्परागत रिती रिवाज, संस्कृति–संस्कार(तुम्लो)लाई भावि सन्ततिहरुमा मातृभूमि(च्याङ्माखा) रहुन्जेल बाहिङ सम्मान र अस्तित्वलाई भावि सन्ततिमा निरन्तरता दिनका लागि पूर्खाहरुमा अपरिवर्तनीय सोचलाई सकारात्मक चुनौतीको रुपमा लिदै, संस्कारमा लाग्ने खर्चको मितव्यायीता अपनाउँदै, महिनौंसम्म बाहिङहरुको घर–घरमा पितृ संस्कार गर्ने चलनलाई सबैले एउटै सारिखिम माफर्त गर्ने अवधारणाको विकास गर्दै, पितृ संस्कारमा लाग्ने समय कम गर्दै आफ्नो थातथलोबाट सहरी जिवनमा लागेका समुदायलाई सहरका घरहरुमा मान्न अप्ठ्यारो भएको कुरालाई ध्ययनमा राखि शहरहरुमा सामुहिक रुपमा मान्ने प्रथाको थालनी गरि समुदाय विचको एकता ल्याई, सबै क्षेत्रका समुदायहरुले मानिने परम्परालाई संयुक्तरुपमा सम्मान गर्दै, किरात बाहिङ जातिहरुमा निरन्तरताका लागि समय सापेक्षा चल्नु पर्ने आवश्यकतालाई महसुश गरी, दिर्घकालिन सुझ–बुझका साथ चुनौतीलाई सामना गर्दै, परम्परागत संस्कारमा राम्रो सम्बन्ध विकास गर्न मुलुखिमले तपसिल बमोजिमको कार्यहरु गर्नेछ ।

(क) सामुहिक “सारिखिम” (पितृ घर) निर्माणका लागि जग्गा खदिर तथा भवन निर्माण गर्ने ।

(३) मुलुखिम  निर्माण गर्न आर्थिक र भौतिक सहयोग गर्ने व्यक्तिहरुलाई निम्न बमोजिमका सम्मान गरि सामाजिक व्यक्तित्वको रुपमा सम्मान गरिनेछ  ।

(क) रु १०,०००००० (एक करोड) बराबरको जग्गा वा रकम सहयोग गर्ने व्यक्तिलाई, निजको निधनको दिनलाई सामुहिक सारिखिममा बार्षिक स्मृति दिवशको रुपमा स्म्ृति दिवश मनाइनेछ । निजको भवनको निश्चित क्षेत्रमा अर्धकदको सालिक राखिनेछ ।

(ख) सामुहिक सारिखिम निर्माण गर्दा आफ्नो परिवार तथा प्रियजनको नाममा कोठा रहने गरि इच्छुक व्यत्तिलाई निर्माण गर्दा लाग्ने लागत व्यहोर्ने गरि व्यवस्था मिलाईनेछ ।

(ग) रु ३०,००००० (तिस लाख) बराबरको जग्गा वा रकम प्रदान गर्ने व्यक्तिको सारिखिम प्रवेश गर्ने मुलढोकामा परिचय उल्लेख गरि शिलालेख राखिनेछ ।

(घ) रु १५,०००००(पन्ध्र लाख) बराबरको नगद सहयोग गर्ने व्यक्तिहरुको समुह बनाई शिलालेख सभाहलमा राखिनेछ ।

(ङ) रु ५,००००० (पाँच लाख) बराबरको नगद सहयोग गर्ने व्यक्तिहरुको शिलालेख बनाई राखिनेछ ।

(च) रु १,००००० (एक लाख) देखि ४०००००(चार लाख) बराबरको नगद सहयोग गर्ने व्यक्तिहरुको शिलापत्र तयार पारि फोटो राखिनेछ ।

(छ) रु ५०,००० (पचास हजार)भन्दा माथि सहयोग गर्नेलाई ताम्रपत्रले सम्मान तथा शिलालेखमा अभिलेख राखिनेछ ।

(ज) मुलुखिम जग्गा खरिद तथा भवन निर्माणमा सहयोग रु ५,००० देखि १०,००० (पाँच हजार) देखि (दश हजार) भन्दा माथि सहयोग गर्नेलाई सम्मान पत्र द्वारा सम्मान गरिनेछ ।

३. मुलुखिम निर्माण गरिदा पितृ संस्कारका लागि निर्माणमा अपनाईने प्राविधिक र व्यवस्था

मुलुखिम भवन निर्माणमा बाहिङ समुदायको संस्कार संस्कृति र परम्परा अनुसार मृत्यू संस्कार, जन्मसंस्कार, विवाहसंस्कार, विजुजा धामी, पितृधामी राख्न मिल्ने गरि, हङ/सेग्रो समेतको प्रदर्शन गर्न र अन्य समुदाय र पर्याटकलाई समेत उक्त संस्कार दृष्यवलोकन गर्न सक्ने र मिल्ने गरी निर्माण गरिनेछ ।

४. भवन निर्माण आर्थिक तथा भौतिक श्रोतहरु

मुलुखिम निर्माणका लागि आर्थिक व्यवस्था श्रोतहरु  नेपाली समाज, किरात समुदायहरुबाट, देश विदेशमा रहनु भएका किरात बाहिङ समुदायबाट उठाइनेछ । इच्छुकदाता व्यक्ति/व्यक्तित्वहरु,  संस्थाहरुबाट प्राप्त सहयोग र नेपाल सरकारबाट प्राप्त गरिने सहयोगहरु, संघिय, प्रादेशीक र स्थानिय सरकारबाट उपलब्ध हुने बजेटहरु समितिले पहल गरि निर्माणमा श्रोत जुटाइनेछ ।

५. सारिखिमको संरचनाः

(क) सारिखिम संचालनमा किरात बाहिङ भित्र परम्परा संस्कारको प्रशासनिक अंग पुस्तौं–पुस्तादेखि अवलम्बन हुँदै आएको परम्परागत संस्था (Traditional Institution)लाई परम्परागत संस्कार सारिखिमको सबै प्रशासनिक संयन्त्रले संचालन हुनेछ । जो यस प्रकार रहनेछ ।

मुलुमी/मुलुचा

ध्याव नक्सो/मोतो नक्सो

पे:रो–जुम्रो ङाबुचा, चयचा, तुम्लोचा

मःसिमी, मःसिचा, सिलीचा, सिलीमी

कायामी–कायाचा

(चिचा, सेचा, क्रेचा, तुळा, सेख्लीचा, कजेःरी, ग्राचा,

चुरिचा–ख्वासिचा, बुरोख्वाम्/बुरोखिम, चिचा, चिचाख्वम्/चिचाखिम,

गिजोचा, ङार्मोचा, ………………..(लगायत अन्य छुटेका विभागहरु)

(६) किरात बाहिङ समुदायमा मृत्यु पश्चात चिनो चौतारो बनाईदा सिलामा नै किरात लिपीलाई प्राथमिकता दिइनेछ । किरात इतिहास, किरात अस्तित्व कायम गर्ने र सयौं वर्ष पछि पुरातात्विक आधारशिला बन्ने हिसाबले सोचिनेछ । विगतमा चिनो चौतारोमा लेखिने गरेको श्री गणेशायनमः र नेपाली भाषालाई प्रयोजनमा निरुत्सापहत गरिने छ । त्यसको साटो, पापाचादाबुङ, मामाचुलीमो र सृष्टिकर्ता निना¥याङ्मालाई संबोधन गरि दिर्घकालिन पुरातात्विक धरोहर, किरात बाहिङ इतिहासको रक्षा र निरन्तरता दिइनेछ ।

(७) आर्थिक व्यवस्था

मुलुखिमले किरात बाहिङहरुमा आर्थिक सम्पन्नता विना समाजको विकास र एकता सम्भव छैन भन्ने कुरालाई ध्यान दिदै समाजको उन्नति, जिवीकोपार्जनको मेरुदण्डलाई आत्मसाथ गर्दै, नेपाल सरकारको नीति अनुसार सामुदायिक हितमा आर्थिक अवस्थालाई माथी उठाई समाजलाई सम्पन्न बनाउन, आफु र आफ्नो समुदाय बचाउँ भन्ने नीतिका साथ सामुहिक आर्थिक कृयाकलापले मात्र समाजलाई माथि उठाउने उद्देश्यले आर्थिक गतिविधिका लागि किरात बाहिङ समुदाय भित्र रहेको सिमित श्रोत साधनलाई एकिकृत पारी सामुहिक लगानी गरी अर्थोपार्जन गर्ने द्येयले सामुहिक सहकारी संस्था, वित्तिय क्षेत्रमा लागेका किरात बाहिङहरुको नेतृत्वमा छुट्टै निनिर्‍याङ्‍मा सहकारी सस्था वा समुदायको वैकल्पीक नामले खोल्न समुदायलाई प्रोत्साहन गरिनेछ । मुलुखिमले आफ्नो समुदायमा खोलिएका व्यापार–व्यावसाय, फर्म, संस्था, शिक्षा, वकिल, कृषि लगायतका सबै खाले सेवाहरुको व्यवसाय समुदाय विच प्रवर्‍धन गर्न प्रोत्साहन दिईनेछ ।

(८) भूमि सम्बन्धी व्यवस्थाः

विगतका सरकारले किरात बाहिङहरुको गढी, किपट, चिहान डाँडा, नाग पुज्ने पानीको श्रोत, संकारिक पवित्र पहाड नदी–नाला, भीर, पाखा पितृ संस्कारसंग सम्बन्ध राख्ने सम्पदा, भूमिहरु र थुमहरुको पहिचान गरि नेपाल सरकारसंग समन्वय र पहल गरी किरात बाहिङहरुको पवित्र भूमिको रुपमा विकास र संरक्षण गरिनेछ । सरकारको स्वमित्वमा पारिएको सांस्कारिक, ऐतिहासिक, परम्परागत भूमिको पहिचान गरी नेपाल सरकारसंग संरक्षण र पर्यटन विकासमा प्रवद्र्धन गर्ने । पुखौली भूमिहरुको नाम बाहिङ मातृभाषामा रहेका स्थानहरुलाई संरक्षण गर्ने जस्तै देउसुम्बु (राँगादिप), सर्सेपु(विगुटार) खिस्तो(बरुणेश्वर), होल्पु दुङ्‍मोद्‍याल, सोबुरु, मोप्लोद्‍याल (अँधेरी–नारायणस्थान), भदौरे(मसेपु)–मासाकु), मिझिमद्‍याल (गैरी), कोङ्कोद्‍याल (डाँडागाउँ), सोसोकु, आँपस्वरा,मुपुद्‍याल (रातमाटे), फाकु(लेकखर्क), खातुक्पा(नेपाने), जेरे(खाटा) सोलुखुम्बुका ब्लवायी, भिनेम, ल्वाङसे, दोःदी(छितापातल) सो भूमिहरुको नामाकरण सबै बाहिङ मातृभाषामा कायम गर्ने र समुदायको भूमिको पहिचान दिने पहल गरिनेछ । राज्यपुनः संरचनामा ऐतिहासिक आधारमा किरात प्रदेशमा जोडदार पहल गर्नेछ ।

(९) तुम्लो–यालो(साँकारिक) व्यवस्थाः

संस्थाले विषेशगरी पितृ संस्कारमा ज्ञान राख्ने। ध्यवा मोतो नक्सो, ङाबुचा, मसिचा, मसिमी मुलुचा–मुलुमी, मोसुम, नाग्ले, सेग्रो/हङ र विजुवा धामीहरुलाई उनीहरुको ज्ञानलाई तदनुसारको जिम्मेवारी बनाईने र दिईनेछ र आवश्यकता अनुसार तुम्लोमा वहाँहरुलाई खटाइनेछ । यस्ता खालका तुम्लो(सांस्कारिक) व्यक्ति, व्यक्तित्वहरुलाई सम्मान गरिने छ । उनीहरुसंग रहेको ज्ञानलाई श्रव्य, दृष्य, छापा मार्फत् संरक्षित गरिनेछ ।

किरात बाहिङ भित्र नेपाली र अंग्रेजी नामहरु बच्चाको नामाकरण प्रचलनलाई निरुत्साहित गरी भावि पुस्ताहरुका बालबच्चाहरुको नाम बाहिङ प्रचलन अनुसार बाहिङ मातृभाषामा र अन्य किरात भाषामा राख्ने अभियन चलाइनेछ ।

(१०) शैक्षिक व्यवस्थाः

संस्थाले किरात बाहिङ समुदायका बालबालिका र युवायुवतीहरुलाई उच्च शिक्षका लागि प्रोत्साहन दिइनेछ । यसका लागि कुनै पनि कक्षामा प्रथम श्रेणी हासिल गर्नेलाई पुरस्कृत गरिने छ । भने कम्तीमा स्नाकोत्तर गर्नेहरुलाई संस्थाको विशेष कार्यक्रमहरुमा सम्मान गरिनेछ । सम्भव भएमा शैक्षिक छात्राबृत्ति स्थापना गरि असहाय र जेहेन्दार व्यक्तिहरुलाई व्यवस्थित गरिनेछ ।

(११) राजनीतिक व्यवस्थाः

संस्थाले जुनसुकै दलहरुले गर्ने जाति र समुदाय प्रतिको व्यबहार सकारात्मक वा नकारात्मक के हो ? यसले बाहिङ जातिहरुको हितमा छ की छैन ? किरात बाहिङ जातिहरुको सर्वोपरि हितका विषयहरुमा मात्र सकारात्मक सोच राख्नेछ । किरात बाहिङ समुदायहरुको हित विपरित भएमा नीति तथा कार्यक्रमहरुको विरोध गर्न सक्नेछ । भने कुनै पनि बाहिङ व्यक्ति राजनीतिक स्वतन्त्रता हुनेछन् । किरात बाहिङ समुदायका राजनैतिक व्यक्तिहरु जुनसुकै राजनैतिक दलका भएता पनि विभेद गरिने छैन । संस्थागत र समुदायगत रुपमा समान व्यवहार गरिनेछ । नेपाल सरकारले किरात बाहिङहरुको मुल थलोमा ल्याउने कुनै पनि नीति, योजना र कार्यक्रमहरु समुदायलाई अहित, असर, प्रभाव, क्षति हुन जाने खालको छ भने जापैरवी गरि समुदायको हितमा मात्र समर्थन गर्नेछ ।

(१२) सामाजीक व्यवस्थाः

आदिमकाल देखि किरात भूमिमा अस्तित्वमा रहेका आदिवासी किरात बाहिङहरुको हितमा संस्थाले किरात बाहिङहरुको, मर्दा–पर्दा, सामाजिक सुरक्षा, आर्थिक सुरक्षा, भाषागत सुरक्षा र संस्कृतिसंग जोडिएर आउने सामाजिक मुल्य–मान्यताहरुलाई संस्थाले सामाजिक व्यवस्था अन्तर्गत व्यवस्था गर्नेछ ।

(१३) भाषागत ब्यवस्थाः

(क) संस्थाले, भावि बाहिङ सन्ततिहरुलाई भाषा सिकाउन र बोल्न प्रोत्साहन गर्ने कार्यक्रमहरु ल्याउनेछ ।

(ख) पाठ्यक्रम विकासमा संबन्धित निकायमा पहल गरी बाहिङ थाकथलोहरुमा प्राथमिक तहसम्म पठन–पाठनका लागि व्यवस्था मिलाईलेछ ।

(ग) प्रत्येक बर्ष संस्था स्थापना दिन पारि बाहिङ मातृभाषामा कविता, तथा, साहित्य प्रतियोगिता केन्द्र, जिल्ला, गाउँस्तरमा संचालन गरिनेछ र गराईनेछ ।

(घ) बाहिङ मातृभाषामा कविता, कथा, नाटक, रेडियो कार्यक्रम, टेलिभिजन, कार्टुन, फिल्ममा विशेष योगदान दिने व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिनेछ ।

बाहिङ किरात मुलुखिम केन्द्रीय समिति

bahingkiratmulukhim@yahoo.com;  bahingkiratmulukhim@gmail.com

आर्थिक सहयोगका लागि आवश्यक संम्पर्कका लागि 9851143003, 9869723575, 9849186788

Bank : Everest Bank Pvt Ltd Branch Chabahil, Account Name: Bahing Kirat Mulukhim, Ac no: 01800501217364

सामुहिक सारिखिम निर्माणका लागि अनुरोध